गुल्मी, २९ पुसः

व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढपक्कै ढाकेको छ । किबीको व्यावसायिक उत्पादन सुरु गरेपछि उनीहरुको आम्दानीमा वृद्धि हुँदै गएको छ । जिल्लामा सबैभन्दा बढी किबी उत्पादन गर्ने पालिकामा सत्यवती गाउँपालिका पर्दछ । सत्यवतीको भार्सेमा हाल ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा किबीको व्यावसायिक उत्पादन हुँदै आएको छ । यस वर्ष त्यहाँका कृषकले ८० टनभन्दा बढी किबी उत्पादन गरेको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिनुभयो ।

भार्र्सेमा उत्पादित किबी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म बिक्री गरिन्छ । बजारमा उपलब्ध किबीको तुलनामा भार्षेमा उत्पादित किबीको फुटकर मूल्य प्रतिकिलो रु २०० देखि रु ३०० सम्म रहेको छ । यहाँका कृषकको मुख्य आम्दानी किबीखेती बनेको छ ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेसँगै किबी उत्पादनमा स्थानीयको आकर्षण बर्सेनि बढ्दै गएको हो । किबी खेतीको व्यावसायिक उत्पादनका लागि कृषकलाई गाउँपालिकाबाट प्राविधिक सहयोगदेखि तालिम, बिरुवा, खम्बा निर्माण र सिँचाईलगायत क्षेत्रमा सहयोग गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले बताउनुभयो ।

गत वर्ष गाउँपालिकाबाट नर्सरी सपना, बगैँचा व्यवस्थापनसँगै किबीको जाम र वाइन बनाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो । भार्सेका कृषक यमबहादुर थापा व्यावसायिक किबीखेती कृषक अन्तर्गत पर्नुहुन्छ । उहाँले लगाएका सबै १५० बोटले फल दिन थालेको छ । गत वर्षको तुलनामा यस पटक उत्पादन घटे पनि किबीको बजार मूल्य भने राम्रै रहेको थापाले बताउनुभयो । उहाँको बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी रहेका छन् । अन्य खेतीको तुलनामा किबीबाट मनग्य आम्दानी हुने उहाँको अनुभव छ ।

भार्सेका कृषक पाँच किबी समूह गठन गरेर व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । सबैभन्दा धेरै किबी उत्पादन गर्नेमा ठूलापोखरी समूह पर्दछ । भार्से गाउँका पाखा बारी किबीले ढपक्कै ढाकिएका छन् । किबीका बिरुवाले रोपेको तीन वर्षबाटै फल दिन सुरु गरेपछि यो कृषकको मुख्य रोजाइमा परेको हो । किबीले एउटै बोटबाट ६० किलोदेखि १२० किलोसम्म फल दिने गरेको वडाध्यक्ष होमबहादुर रानाले बताउनुभयो ।

बाँदर, बनेल र चराचुरुङ्गीबाट अन्य खाद्यबाली जोगाउन समस्या परेको अवस्थामा किबीखेती भार्सेका कृषकका लागि यतिबेला प्रमुख आम्दानीको स्रोत बनेको छ । किबी बढी झुसिलो हुने भएका कारण पनि वन्यजन्तुले खासै हानि नोक्सानी गर्दैनन् । जिल्लामा एक हजार २०० मिटरदेखि दुई हजार मिटर उचाइसम्म किबीखेती गरिँदै आएको छ । गुल्मीमा सत्यवती गाउँपालीकालगायत कालीगण्डकी, मदाने, मालीका, धुर्कोट, छत्रकोछट, मुसिकोटलगायत पालिकामा पछिल्लो समयमा किबीको व्यावसायिक खेती गर्न थालिएको छ ।

किबी फल एक स्वस्थ र स्वादिष्ट फल मानिन्छ । किबीले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा फाइबर पाइने भएकाले पाचन प्रक्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ । यसलाई जुस बनाउन र सलादका रुपमा प्रयोग गर्ने गरिन्छ । यो फलमा धेरै पौष्टिक तत्व भएका कारण सबै उमेर समूहका व्यक्तिका लागि उपयुक्त मानिन्छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ