काठमाडौँ, ६ फागुनः

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो परिवेशमा राष्ट्रिय समाचार समिति (रासस)ले श्रव्यदृश्य, विविध भाषाभाषीका समाचार र २४सै घण्टा सेवाको विस्तारसहित सेवाको विविधीकरण र संस्थागत विकासलाई सुदृढ बनाउनेतर्फ देखाएको क्रियाशीलता सराहनीय भएको बताउनुभएको छ ।

देशविदेशका सत्यतथ्य, आधिकारिक, विश्वसनीय श्रव्य र श्रव्यदृश्यसहितका समाचार सामग्रीमार्फत आमनागकिरलाई सुसूचित गराउँदै आएको राससको ६५औँ वार्षिकोत्सवका अवसरमा रासस परिवारलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेललले सत्यतथ्य समाचार सम्प्रेषणमा राससले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तनसहित देशविदेशका अनेक घटना परिघटनाको एउटा साक्षीका रूपमा झण्डै साढे छ दशकदेखि अविच्छिन्न रूपमा राज्यको एकमात्र समाचार समितिका रूपमा अहोरात्र सत्यतथ्य समाचार सम्प्रेषणमा यसले गरेको योगदान प्रशंसनीय छ ।”

उहाँले सूचना प्रविधिको विकास, विश्वव्यापीकरण र भूमण्डलीकरणको आधुनिक युगमा पत्रकारिता क्षेत्र र आमसञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दैै सूचना प्रविधिको विकासले सूचना सम्प्रेषणमा भित्रिएको नयाँ नयाँ माध्यम र त्यसमा आमपहुँचसँगै भ्रमपूर्ण र मिथ्या सूचना फैलनसक्ने चुनौतीको सामना गर्न आमसञ्चारमाध्यमले अझ बढी जिम्मेवार, जवाफदेही र संवेदनशील भएर सूचना प्रवाह गर्नुपर्नेतर्फ विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “वास्तवमा आमसञ्चार माध्यमको धर्म भनेको सत्यको अन्वेषण र सत्यतथ्य सूचनाको सम्प्रेषण नै हो, पत्रकारिताको सिद्धान्त, मूल्यमान्यता, आचारसंहिता र विकसित आधुनिक उच्चतम पेशागत अभ्यासको अनुशरण गर्दै आमपाठकको चाहनाअनुसार आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सम्प्रेषण गरेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउँदै जनताको हित र मुलुकको समग्र विकासलाई गति दिनु आजको आवश्यकता हो ।” यसतर्फ राससजस्ता समाचार संस्थाले आगामी दिनमा अझ सशक्त, प्रभावकारी र संवदेनशील भएर समाचार प्रवाहमा योगदान दिने उहाँको विश्वास छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको र सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व, प्रगति र राष्ट्रिय एकता अझ सुदृढ हुने पनि उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिएर विकासको बाटोमा अघि बढाउन यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न राससलगायत सञ्चारमाध्यमले आगामी दिनमा अझ अह्म भूमिका निर्वाह गर्ने नै छन भन्ने विश्वासका साथ ६५औँ वार्षिकोत्सवका अवसरमा राससको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ