काठमाडौँ, २१ जेठ


: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभई राष्ट्रको साझा समस्या भएको बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकाना व्यक्त गर्दै उहाँले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कूरीतिको अन्त्य गर्न सकिनेमा जोड दिनुभएको छ । यसमा कांग्रेस प्रतिबद्धतापूर्वक अनवरत रूपमा लागेको उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले यो दिवसले सबैमा समानता, सामाजिक न्याय, मानव अधिकार र सबै मानव जाति समान हौँ भन्ने भावनाको विकास गर्दै जातका आधारमा मानिसमाथि गरिने सबैखालका घृणा र विभेदको अन्त्य गर्ने प्रेरणा र सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
जातीय भेदभाव मुक्त राष्ट्र घोषणामा तत्कालीन सरकार प्रमुखको तर्फबाट पहल गर्नुहुने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति सम्मान व्यक्त गर्दै सभापति थापाले कांग्रेस दलित समुदायले भोग्दै आएको छुवाछूत तथा भेदभाव अन्त्यका लागि लाग्ने एक प्रतिबद्ध दल भएको उल्लेख गर्नुभएको छ ।
“दलित समुदायको राजनीतिक प्रतिनिधित्वको कुरा गर्ने हो भने नेपालका दलित समुदायलाई पहिलो पटक संसद्मा निर्वाचित गराउने पहिलो दल पनि कांग्रेस नै हो । विसं २०४८ मा बाँकेबाट कांग्रेसका कृष्ण परियार नेपालको इतिहासमा पहिलो निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । कांग्रेसको केन्द्रीय समितिको महामन्त्री जस्तो गरिमामय पदमा धनमानसिंह परियार पार्टीको महामन्त्री हुनुभयो”, उहाँले सन्देशमा उल्लेखमा गर्नुभएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको कांग्रेसको सरकारले २०५८ सालमा राष्ट्रिय दलित आयोगको स्थापना गरेको र कांग्रेसका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा नेपालले नयाँ संविधान पाएको तथा उक्त संविधानमा छुवाछूतलाई दण्डनीय सामाजिक अपराधका रूपमा लिइएको सभापति थापाको भनाइ छ । उहाँले सबै तहमा सरकार, नीतिनिर्माता, राजनीतिक दल, सबै सरोकारवाला साथै पार्टी पङ्क्ति स्वयंलाई दलित समुदायको सामाजिक न्यायको र समृद्धिका पक्षमा घनिभूत रूपमा लागि पर्न अपिल गर्नुभएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










