बागलुङ, १४ भदौ :


बागलुङ स्थायी भई भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
बागलुङबाट कामदारको रूपमा तथा भ्रमणका लागि रसुवा पुगेका तीन जनाको सकुसल उद्धार गरिएको र १६ जना अझै सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाइँले जानकारी दिनुभयो ।
जिल्लाका तीन जनालाई सकुशल उद्धार गरिएको शनिबार जानकारी आएको उहाँले बताउनुभयो । उद्धार गरी सुरक्षित स्थानमा राखिएकामा बागलुङका तीन जनाको वर्ष र नाम खुले पनि स्थानीय ठेगाना नखुलेको उहाँको भनाइ छ ।
भोटेकोशी क्षेत्रको टिमुरेबाट २९ वर्षीय टमकुमारी थापा र रसुवाबाट ४४ वर्षीय गिरीप्रसाद बुढामगर र ४१ वर्षका धनबहादुर विकलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाबाट अझै १६ जना सम्पकविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा जिल्लाको तमानखोला गाउँपालिकाका नौ जना, बागलुङ नगरपालिकाका चार ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक गरी १६ जना अझै सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
तमानखोला गाउँपालिका–१, बोङ्गादोभान हिजाका ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही ठाउँका ३२ वर्षीय इन्द्रकुमार विक, रिक्लाङ्कका २२ वर्षीय विष्णु घर्तीमगर, वडा नं. २ बोंगाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल र ५२ वर्षीय खड्ग छन्त्याल, वडा नं. ३ तमानका २२ वर्षीय सञ्जय शिर्पाली र ५० वर्षीय दलप्रसाद बुढा तथा वडा नं. ४ लाम्मेलाका ५८ वर्षीय लाता कामी र ४७ वर्षीय भीमबहादुर विक छन् ।
ढोरपाटन नगरपालिका–९, बोबाङका २० वर्षीय तुलबहादुर विक र ढोरपाटन नगरपालिका–४, सिमिकाका २३ वर्षीय वीजेन्द्र घर्ती र गलकोट नगरपालिका–२, नरेठाँटीका २७ वर्षीय रमेश सुनार बाढीमा बेपत्ता भएको प्रसाइँले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–९, तित्याङको साल्बोटका ३३ वर्षीय इञ्जिनियर राजेश शर्मा पौडेल, उहाँकी ३१ वर्षीया श्रीमती इञ्जिनियर प्रमिला पाठक तथा उहाँहरूका पाँच वर्षीय जुम्ल्याहा छोराछोरी आदित्य र अदिति शर्मा पौडेल बाढीमा परी बेपत्ता भएका छन् ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










