काठमाडौँ, १४ भदौः

त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाएको छ ।

सडक अवरुद्ध हुँदा ग्यास ढुवानीमा असुविधा हुन सक्ने भएकाले एलपी ग्यास उद्योगीहरूसँग छलफल गरी वैकल्पिक आपूर्ति व्यवस्था गरिएको निगमद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसअनुसार बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी तथा अन्य जिल्लामा रहेका ग्यास उद्योगहरूले आफूलाई पायक पर्ने अन्य ग्यास उद्योगसँग समन्वय गरी आफ्ना खाली बुलेट खुलाइ सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाउने छन् । कृष्णभीरको बाटो नखुलेसम्म ट्रकमा एलपी ग्यासका सिलिन्डर राखी वैकल्पिक मार्गबाट काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री वितरण गर्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिका लागि ट्याङ्कर तथा ट्रकलाई स्थानीय प्रशासनसँगको समन्वयमा वैकल्पिक मार्गबाट काठमाडौँसम्म ल्याई आपूर्ति सहज बनाउने व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले बाढी तथा सडक अवरोधका कारण पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्थालाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ