भक्तपुर, ८ कात्तिक : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गरी फर्कनुभएको हो ।

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सकल्प पूजा गराउनु भएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गर्नु भएको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नुभएको थियो ।

नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललेलाई बागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का सङ्घीय सांसद रुकेश रञ्जित, गङ्गालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायत विभिन्न व्यक्तिहरुले स्वागत गर्नु भएको थियो ।

एक लाख नगदसहित सम्मान

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थालाई बागमती प्रदेश सरकारको तर्फबाट रु एक लाख नगद प्रदान गर्नुभयो । सम्मानपत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गर्नुभयो । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुँदै आएको अवस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रु एक लाखसहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

विसं २०४५ मा भूकम्प गएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राष्ट्रप्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिनुभयो । नवदुर्गाअन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।
—

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ