चितवन, १६ भदौः


नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले ‘जैविक सम्बन्ध’ (बायोलोजिकल रिलेसनसिप) भएकाहरूको डिएनए परीक्षण गरेर शव पहिचान गर्न सकिने बताउनुभएको छ । भोटेकोशी बाढीपछि मृत्यु भएकाहरूको सनाखत हुन कठिन भएसँगै डिएनए परीक्षणका लागि नमूना लिने काम भइरहेको उहाँले बताउनुभयो ।
प्रयोगशालाको डिएनए शाखामा १० वर्षदेखि कार्यरत पोखरेलले आज पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै भन्नुभयो, “डिएनए भनेको कुनै पनि घटनामा व्यक्ति पहिचान गर्ने प्रभावकारी वैज्ञानिक विधि हो । कुनै पनि व्यक्तिलाई दुई वटा विधिबाट यकिन गर्न सकिन्छ । एउटा औँठाछाप (फिङ्गर प्रिन्ट) र डिएनए परीक्षण हो । अहिलेको अवस्थामा धेरै शव गलेकाले औँठाछाप लिन नसकिने भएसँगै डिएनए उपयुक्त विकल्प हो ।”
अहिले प्राप्त शवहरूको डिएनए परीक्षणका लागि नमूना सङ्कलन भइरहेको जनाउँदै प्रहरी निरीक्षक पोखरेलले परिवारका कुनै सदस्य हराएको दाबी गरेपछि जैविक सम्बन्ध भएकाहरूको डिएनए परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार जैविक सम्बन्ध भन्नाले आमा, बाबु, छोरा, छोरी, दिदी बहिनीलगायत रगतको सम्बन्ध भएकाहरूलाई बुझिन्छ ।
प्रहरी निरीक्षक पोखरेलले भन्नुभयो, “बुबा, आमा हराइरहनुभएको छ भने उहाँहरूको छोरा वा छोरीको परीक्षण गर्छौं । छोरा वा छोरी हराएको भए बुबा र आमाको रगत निकालेर डिएनए परीक्षण गर्छौँ ।” मृतकको बुबा, आमा हुनुहुन्न र बच्चा पनि छैनन् भने दिदीबहिनी अथवा दाजुभाइको डिएनए नमूना लिएर पहिचान गर्न सकिने उहाँले प्रष्ट पार्नुभयो ।
प्रयोगशालाका प्रहरी निरीक्षक पोखरेलले भन्नुभयो, “फेला परेका शवहरूको नमूनाबाट डिएनए पत्ता लगाएर राख्छौँ, उक्त नमूनासँग परिवारको लिएर मिलान गर्छौँ । मिलान भए मात्रै आफ्नो व्यक्ति हो भन्ने पहिचान हुन्छ ।” नमूनाबाट डिएनए पत्ता लगाएपछि नम्बर लगाएर अभिलेख सुरक्षित राखिने उहाँले बताउनुभयो ।
हराइरहेका व्यक्तिको दाँत र हड्डीबाट नमूना लिएर परीक्षण गरिने प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । डिएनए परीक्षणका लागि सबैभन्दा राम्रो नमूना दाँत र हड्डीको हुने भन्दै उहाँले भन्नुभयो, “दाँत र हड्डीमा डिएनए परीक्षणका आवश्यक पर्ने सेल दुईवटै आएको हुन्छ । जुन लामो समयसम्म पनि रहन सक्छ । यसमा पनि पहिलो प्राथमिकता दाँतलाई लिन्छौँ ।”
प्रहरी निरीक्षक पोखरेलका अनुसार विदेशी नागरिकको हकमा सम्बन्धित देशलाई डिएनए परीक्षण गरेर परराष्ट्र मन्त्रालयबाट राजदूतावासमा रिपोर्ट पठाउन सकिने व्यवस्था गरिएको छ । डिएनए परीक्षणका लागि काठमाडौँको नेपाल प्रहरी अस्पताल र अरु सम्बन्धित जिल्लाका अस्पतालमा व्यवस्था गरिएको जनाउँदै उहाँले सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा सम्पर्क राख्न सकिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुनै व्यक्ति अन्य जिल्लामा छन् भने उहाँले आफ्नै जिल्लामा रहेको प्रहरी कार्यालयमा गएर डिएनए नमूना दिन सक्छन् । मन्जुरीनामा फारम भरेर रगतको नमूना परीक्षण गरेपछि प्रयोगशाला पठाएमा डिएनए परीक्षण हुन्छ ।”
फारममा भनिएअनुसार ‘मैले डिएनए डाटाका रूपमा राख्न मन्जुरी गरेको छु’ भनेपछि मात्रै नमूना सङ्कलन हुने प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । यस्तो कार्य स्वास्थ्यकर्मीको रोहवरमा प्रहरीले गर्ने उहाँले उल्लेख गर्नुभयो । वर्तमान साधनस्रोतको आधारमा डिएनए परीक्षणको नतिजा आउन १२ हप्ता लाग्ने उहाँको भनाइ छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










