
काठमाडौँ
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् ।
चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैतेदशैँ पर्व मनाएका छन् ।





यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैतेदशैँका अवसरमा विशेषपूजा गरिएको छ ।
यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, उग्रतारा, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ ।
चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।
चैतेदशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैतेदशैँमा अष्टमी र नवमीलाई विशेषरूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रूपमा मनाइन्छ ।
हनुमानढोकामा दिइयो बलि
प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैतेदशैँका दिन पनि बलिसहित पूजा गर्ने गरिएको छ । हनुमानढोकाको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















