विद्यार्थीहरूले ढाका विश्वविद्यालयबाट एक महिनाअघि थालेको आन्दोलनले हिंसात्मक रुप लिँदा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता मात्र त्याग्नु परेन, देशबाटै बाहिरिनु पर्‍यो ।

आइतबार भएको हिंसामा कम्तिमा ९० जना मारिएपछि सोमबार परिस्थिति अझ अनियन्त्रित बन्यो । कर्फ्यू आदेशका बीच हजारौंको संख्यामा नागरिकहरू प्रधानमन्त्रीको सरकारी निवासतर्फ अघि बढ्दा हसिना देश छाड्ने निर्णयमा पुगेकी थिइन् ।

बंगलादेशको राजधानी ढाकामा रहेका एक नेपाली विद्यार्थीले  बताए अनुसार प्रदर्शनकारीहरु गोणो भवनबाट निस्केर सत्तारुढ अवामी लिगको अफिस र नेता कार्यकर्ताको निवासतर्फ गएका थिए । ‘सेनाले पनि यिनीहरुलाई रोक्न सक्दैन, बरु हिजोसम्म जस्तै गरी अविरल पानी पर्‍यो भने चाहिँ रोकिन सक्छन्’, ढाकाबाट ती विद्यार्थीले भने, ‘शेख हसिनाजस्ती बलियो प्रधानमन्त्री नै भगाउने गरी कति ठूलो आन्दोलन भयो होला, अनुमान गर्नोस् ।’

ढाकाली विद्यार्थीकै जस्तो अनुभव सुनाए कोक्स बजारमा रहेका एक कर्मचारीले । राजधानी ढाकापछिको तेस्रो ठूलो सहर कोक्स बजार लोकप्रिय होलिडे गन्तव्य हो । दुई वर्षयता त्यहाँ रहेका ती नेपाली कर्मचारी भन्छन्, ‘अवामी लिगको पार्टी अफिस तोडफोड गरेका छन् । स्थानीय कार्यकर्ताहरु भागिरहेका छन् ।’

अवामी लिग अर्थात् शेख हसिना प्रमुख रहेको पार्टी, जसले अस्ति माघमा तेस्रोपल्ट ठूलो सिट संख्यामा चुनाव जित्यो । धाँधली, अशान्ति र एकलौटीबीच हसिना चुनावतर्फ अघि बढ्दा विपक्षी दलहरुले चुनाव बहिष्कार गरेका थिए । तर हसिनाको बहुमततन्त्र रोकिएको थिएन ।

यति बेला भने बंगलादेशमा लोकतन्त्रको अभ्यास चुनावमार्फत् होइन, सडक आन्दोलनमार्फत् भइरहेको छ । यो विद्यार्थी आन्दोलनमा कुनै चिनिएको ‘ठूलो नेता’ छैन । यही नै बंगलादेशी आन्दोलनको विशेषता बन्न गएको छ ।

कोक्स बजारका सत्तारुढ कार्यकर्ता कहाँ भाग्लान्, जब कि यो सहर स्वयंमा म्यानमारबाट भागेर गएका शरणार्थीहरुको गन्तव्य हो । संयुक्त राष्ट्रसंघले उनै शेख हसिनासँग समन्वय गरेर शरणार्थी स्थानान्तरण गर्दै आएको छ ।

यो परिस्थिति बिगारेको उनै शेख हसिनाले हो । तेस्रोपल्ट चुनिएको घोषणापछि उनले निरंकुश प्रवृत्तिलाई असीमित रुपमा बढाउँदै लगेकी थिइन् । देशभित्र विपक्षीविरुद्ध कठोर बन्दैगर्दा बाहिरी विश्वसामु भने उनी राजनीतिक स्थिरता र आर्थिक विकासको नारामा आफू निरन्तर सफल भइरहेको दाबी गर्दैरहिन् ।

०७५ भदौ १४ मा काठमाडौंमा आयोजित बिमस्टेक सम्मेलनमा बोल्नेक्रममा शेख हसिनाले भनेकी थिइन्, ‘क्षेत्रीय शक्तिहरुले बंगलादेशबाट समेत प्रेरणा लिएर अघि बढ्ने दुईवटा कुरा छन्– स्थिरता र विकास । राजनीतिक स्थिरता भयो भने आर्थिक अवस्थामा सुधार हुन्छ । यी दुई कुरा भयो भने कुनै पनि देश निर्बाध अघि बढ्छ ।’

उनै शेख हसिनाले देशभित्र भने कडिकडाउ बढाउँदै लगेकी थिइन् । पछिल्लो चुनाव यसैको दृष्टान्त थियो । विपक्षका थुप्रै नेता हसिनाकालको प्रशासनबाट डामिएर चुनावमै उठ्न पाएका थिएनन् ।

विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को विरोध र बहिष्कारबीच एकछत्र चुनाव गराएकी उनको शैलीविरुद्ध विभिन्न देशका राजनीतिक/मानवअधिकारवादी संस्थाले आवाजसमेत उठाएका थिए । कतिपय लोकतान्त्रिक देशका संस्थाहरु त चुनाव पर्यवेक्षणमा समेत गएनन् । त्यसले पनि हसिनालाई धेरै फरक परेको देखिएन । आफ्ना निर्णयहरुमा सेनाको परोक्ष सहयोग लिएर विपक्षीमाथि घोर दमनचक्र चलाएकी थिइन् उनले ।

घटना–दुर्घटनामा विपक्षी मारिनु, वा ठोस सबुत बेगर नै पोलिदिएका भरमा कसैमाथि भ्रष्टाचारको आरोप लाग्नु बंगलादेशमा सामान्य भइसकेको थियो । यति हुँदा पनि विपक्षी जनमत शक्तिशाली बन्न सकेको थिएन । विद्यार्थी प्रदर्शन सुरुमै हिंसात्मक बन्न पुगेसँगै थुप्रै नेपाली विद्यार्थीसहित विभिन्न ठाउँका नागरिक आफ्नो देश फर्केका थिए । शेख हसिनाका पिता मुजिबर रहमानले सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश छुटाउँदै नयाँ राष्ट्र निर्माणको नेतृत्व गरेका थिए । आक्रोशित प्रदर्शनकारीले सोमबार अपराह्न उनको समेत शालिक तोडेका छन् ।

कतिपयले बंगलादेशका पूर्वगभर्नर सलाउद्दिन अहमद वा नोबेल शान्ति पुरस्कार विजेता डा. मोहमद युनुस जस्ता व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन हुनुपर्छ भनेका छन् । तर, सेनाले यो विषयमा के सोचेको छ, राष्ट्रपतिसँग के छलफल भएको छ भन्ने कुरा बाहिर आएको छैन ।

अहिले शेख हसिनाको पार्टीका कार्यालयहरूमा तोडफोड लगायतका घटना सतहमा आएका छन् । तर, बेलुकीबाट स्थिति पूर्णरुपमा शान्तिपूर्ण हुन्छ भन्ने लाग्छ । किनभने, यो आन्दोलन प्रहरी–सेना वा सरकारको कुनै निकायविरुद्ध थिएन । अदालतले कोटा प्रणाली खारेज गरिसकेपछि यो आन्दोलन सत्तारुढ अवामी लिग, यसको विद्यार्थी संगठन जो आफैंमा आतंक फैलाउने संगठन जस्तो छ, त्यसको विरुद्ध थियो । त्यसैले अहिले जे स्थिति आएको छ,

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ