सदा झैं यस वर्ष पनि नागपञ्चमी पर्व नेपालीहरूको घरआँगनमा आइसकेको छ । हिन्दु धर्ममा सर्पलाई समेत भगवानको अंश भनी पूजा गर्ने चलन चलिआएको छ । त्यसो त नेपाली र पूर्वीय समाजमा प्रकृतिको पूजा विभिन्न दृष्टिकोणले गर्ने चलन छ । बोटबिरुवामा पीपल र तुलसीलाई विष्णु भगवानको अवतारको रूपमा पूजा गर्ने चलन छ ।

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

ढुङ्गा तथा शालिग्रामको पूजा गर्ने, नदीनालालाई पवित्र तीर्थाटन नै मान्ने, पशुमा गाई र कुकुरको पूजा गर्ने, पन्छीमा कागको पूजा गर्ने, सर्पको पूजा गर्ने जस्ता आदि चालचलनले नेपालीहरू प्रकृतिप्रेमी छन् भन्ने कुरा प्रष्ट हुन्छ । यसको साथै गुरुङ्ग समुदायमा त सबै वर्षको गणना समेत प्रकृतिका पशुपन्छीका नामका आधारमा गर्ने गरिन्छ भने अन्य विभिन्न धर्म सम्प्रदायमा समेत प्रत्यक्ष वा परोक्ष रूपमा प्रकृतिकै पूजा गर्ने चलन चलिआएको छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ