गण्डकी, ५ असोज :

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।

यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुुभयो । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने दर्शनार्थीहरू बढ्दै गएका छन्”, उहाँले भन्नुुभयो, “पितृ पक्ष अवधिभर नै यहाँ दर्शनार्थी आउने गर्दछन् ।”

मुस्ताङ आएका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहीआएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले बताउनुुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउँदै उहाँले यहाँ आएर कागवेनी श्राद्ध गरी मुक्तिनाथ भगवान्को दर्शन गरेमा पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वास रहेको बताउनुुभयो ।

मन्दिरमा आइसकेपछि दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको एक सय आठ धारा यहाँ रहेको प्राचीन किंवदन्ती छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा रहेको मन्दिर परिसरका धारामा बाह्रै मास पानी आइरहनुलाई धार्मिक महत्वका रुपमा हेरिन्छ ।

सामान्यदेखि राम्रो अत्याधुनिक सेवा सुविधा भएका होटेलका कारण यहाँ आउने पर्यटकलाई समस्या नहुने उहाँले बताउनुुभयो । साढे चार चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेडी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्नुपर्दथ्यो । ठाउँठाउँबाट आएका तीर्थयात्रीले त्यहाँको रानीपौवा धर्मशाला खचाखच भरिन्थ्यो । त्यस समयमा खानेकुराका साथै ओढ्ने ओछ्याउने सामग्री पनि आफैँ घरबाट लिएर जानुपर्ने बाध्यता रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का स्थानीय उमादेवी भट्टराईले अनुुभव सुनाउनुुभयो । पछिल्ला वर्षमा बन्दै गएका सुविधा सम्पन्न होटेलले उक्त बाध्यताको अन्त्य गरिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ