स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ । पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको हो ।
१० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नासालीले पहिलो हाफमा गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले दोस्रो हाफमा एक गोल गरिन् ।





खेलको पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३६ मिनेटमा ज्याकलिनले गोल गर्दै वालिङको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफको सुरुमै सुनिताले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यसपछि थप गोल हुन सकेन ।
दोस्रो हाफमा दुवै टोलीले गोलका लागि खासै अवसर बनाउन सकेनन् । जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङले अंकतालिकामा चौथो स्थानमा रहँदै पहिलो चरण सकाएको छ । तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले यसअघि नै सुपर लिगमा स्थान बनाइसकेका छन् । हारपछि चन्द्रपुर भने सुपर लिग होडबाट बाहिरिएको छ । चन्द्रपुरले ९ खेलबाट अंक मात्र जोड्न सफल भयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















