वसन्त पञ्चमी अर्थात श्रीपञ्चमीको दिन आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै छ । यस दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले घर, विद्यालय र मन्दिरमा सरस्वतीको विशेष पूजापाठ गर्दछन् ।विद्यालय जाने उमेर पुग्न थालेका बालबालिकालाई आजकै दिन अक्षर चिन्न र अक्षर लेख्न सिकाउने पनि गरिन्छ । सरस्वती पूजाको दिन शिक्षा आरम्भ गरे बालबालिका पढ्नमा तिक्ष्ण हुने विश्वास छ ।

वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गर्नुभयो  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ