राजविराज (सप्तरी), १४ असोजः

नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै नवरात्रको आठौँ दिन आज सप्तरीका विभिन्न धार्मिकस्थलमा श्रद्धालु भक्तजनको भीड लागेको छ ।

छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित नेपालकै प्रसिद्ध छिन्नमस्ता भगवती शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल दिनप्रतिदिन बढ्दै गएको छ । यस स्थलमा पूजाअर्चना र दर्शन गर्दा सन्तान प्राप्ति तथा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । नवरात्रको पञ्चमीदेखि विशेष पूजापाठ गरिँदै आएको यस मन्दिरमा श्रद्धालुको भीड बाक्लिँदै गएको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्ष करिब १० लाख भक्तजनले दर्शन तथा पूजा गरेका थिए भने यस वर्ष सो सङ्ख्याभन्दा बढी आउने अनुमान गरिएको छ । आज र भोलि महानवमीका दिन नेपालका विभिन्न ठाउँका साथै भारतको विहार राज्यसहित अन्य ठाउँबाट समेत भक्तजन यहाँ आउने गर्छन् ।

श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखी शक्तिपीठ परिसरमा निःशुल्क भोजन, धर्मशाला, खानेपानी, पार्किङ सुविधा तथा सुरक्षा व्यवस्थाका लागि मन्दिर परिसरमा ३२ वटा सिसी टिभी क्यामेरासमेत जडान गरिएको पिठाधीश ठाकुरको भनाइ छ । घटस्थापनादेखि अहिलेसम्म करिब पाँच÷छ लाखभन्दा बढी श्रद्धालु भक्तजनले छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।

जिल्लाका दुई शक्तिपीठसहित यस वर्ष भने विभिन्न मन्दिरमा पनि दर्शनार्थीको चहलपहल बढेको पाइएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा रहेको कङ्कालनी भगवती मन्दिरमा समेत भक्तजनको निकै भीड लागेको छ । यो मन्दिरमा पनि आज बिहानदेखि लाइनमा बसेर भक्तजन पूजाआजा गरिरहेको नगरप्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो । भोलि (बुधबार) महानवमीका दिन यहाँ हुने पशु बलिका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिँदै नवमीका दिन हुने अत्यधिक भीडलाई ध्यानमा राखी व्यवस्थित रुपमा यहाँ स्वयंसेवक परिचालन गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको मन्दिरलाई सिङ्गारिएको छभने ट्राफिक व्यवस्थापनसमेत मिलाइएको मन्दिर विकास समितिका सचिव प्रभु मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार कङ्कालिनी मन्दिरमा पूजा गर्ने भक्तजनको अत्यधिक घुइँचो हुन नदिन पूजा गर्नेको छुट्टै लाइन र खसीबोका बलि दिने भक्तजनको छुट्टै लाइनमा जानका लागि व्यवस्था गरिएको छ । यहाँ महानवमीका दिन राँगा बलि हुने महिषासुरको परिसरमा राँगाको पङ्क्ति लगाउने छुट्टै टोली, बलि प्रदान गराउने छुट्टै टोली र राँगा तानेर बाँधसम्म पुर्याउने छुट्टै टोलीको व्यवस्था गरिएको मन्दिर विकास समितिले जनाएको छ ।

त्यस्तै राजविराजको भगवती मन्दिर र राजदेवी मन्दिरमा समेत ठूलो मेला लागेको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिकास्थित पातोमा रहेका डाक्नेश्वरी मन्दिरमा समेत भक्तजनहरको भीड लागेको स्थानीय उमेश विश्वकर्माले बताउनुभयो । सप्तरीको बोदेवर्सान, कञ्चनपुर, कल्यानपुर, हनुमाननगरका मन्दिरहरुमा देवीको दर्शन र पूजाका लागि भक्तजनको भीड लागेको छ ।

धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने ती मन्दिरहरुमा दसँै अवधिभर भक्तजनको घुइँचो लाग्ने गर्छ । उक्त स्थानमा मूर्ति तथा नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहिआएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ