१६ असोज, काठमाडौं

। नेपालीहरुको महान चाड बडादशैं आज देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

दशैं घर वा पूजाकोठामा घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवी दुर्गाको प्रसादका रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने परम्परा छ । दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणले साइत कुर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले आज बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम साइत निर्धारण गरेको थियो । तर समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार अब त्यो साइत बितिसक्दा पनि सर्वसाधारणले दिनभर नै टीका थाप्न सक्नेछन् ।

‘दशैंको बिहानदेखि अपराह्नसम्म सम्पूर्ण समय शुभ हुन्छ । सर्वसाधारणलाई टीका थाप्न साइत कुर्न आवश्यक छैन,” भट्टराईले भने, ‘अब पनि टीका लगाउन सकिन्छ, यसलाई असाइत मानिँदैन।’

पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउँदा परम्परागत अभ्यासअनुसार टीका दिने व्यक्ति पश्चिम र टीका लिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।

यसरी, बिहान तोकिएको साइत बितिसक्दा पनि आज दिनभर नै टीका लगाउन सकिने भएकाले घर–घरमा अहिले पनि बडादशैंको रमाइलो माहोल चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ