एन्टानानारिभो (मेडागास्कर), ३० असोज रासस
हप्तौँदेखि चलिरहेको विरोध प्रदर्शन र सैन्य हस्तक्षेपले देशलाई सङ्कटमा पारेपछि मडागास्करका पदच्युत राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देशबाट पलायन गरेको पुष्टि गर्नुभएको छ ।

राष्ट्रपति राजोलिनाले अक्टोबर ११ र १२ तारिखको बीचमा ‘राज्य प्रमुखको जीवन विरुद्ध स्पष्ट र अत्यन्त गम्भीर धम्कीहरू’ आएको भन्दै त्यसपछि देश छोड्न बाध्य भएको बताउनुभयो । उहाँले बुधबार राति जारी गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ, “म विदेशी यात्रामा रहेका बेला ती धम्कीहरू प्राप्त भएका थिए ।”

एएफपीलाई पठाइएको उक्त विज्ञप्तिअनुसार राजोलिनाको भ्रमणलाई नियमित सरकारी भ्रमणका रूपमा देखाइए पनि ती धम्कीहरूका कारण उहाँले तत्काल देश त्याग गर्नुभएको हो । मिडिया रिपोर्टहरूले ५१ वर्षीया नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानमार्फत बाहिर निकास गरिएको सङ्केत गरेका थिए ।

राजोलिनाले सोमबार दिएको एक संक्षिप्त प्रतिक्रियामा आफू ‘सुरक्षित स्थानमा’ रहेको उल्लेख गर्नुभएको थियो तर गन्तव्य खुलाउन अस्वीकार गर्नुभएको थियो ।

सन् २००९ मा सैन्य समर्थनसहितको आन्दोलनपछि पहिलोपटक सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रिय सभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक रूपमा हटाएको आरोप लगाउनुभएको छ ।

यता सत्ता नियन्त्रणमा लिएका सैन्य अधिकारीहरूले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरिएको जनाएका छन् । उहाँले शुक्रबार औपचारिक रूपमा शपथ लिने बताइएको छ ।

पानी र विद्युत् अभावका कारण गत सेप्टेम्बर २५ देखि सुरु भएको जनआन्दोलनले रान्ड्रियानिरिनाको हस्तक्षेपलाई ‘जनताको जीत’ भन्दै स्वागत गरेको छ । उक्त आन्दोलनलाई युवा नेतृत्वको ‘जेन जेड’ आन्दोलनका रूपमा चिनिन्छ ।

अन्तर्राष्ट्रिय समुदायले भने यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले यसलाई ‘असंवैधानिक सत्ता कब्जा’ भन्दै कडा निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि तत्काल प्रभावबाट मडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ ।

माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा पछिल्ला वर्षहरूमा भएका सैनिक कूपछि सन् २०२० यता सैन्य शासनको चपेटामा परेका अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरूमध्ये मडागास्कर अहिले पछिल्लो सदस्य बनेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ