वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने राहत रकम वृद्धि गरिएको छ । सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको हो ।

यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको बताए ।

जस अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ । ‘पहिले मृतक परिवारलाई दिँदै आएको रकम नै कम थियो’, उनले भने, ‘यो पटक राहत रकम वृद्धि गरिएको हो ।’ उनका अनुसार वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

२०८० साउनमा श्रममन्त्री शरदसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको २१ औ बैठकले राहत रकम वृद्धि गर्ने प्रस्ताव गरेको थियो । पछि रकम वृद्धिबारे अध्ययन गर्न श्रम मन्त्रालयका तत्कालीन सचिव केवलप्रसाद भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिले राहत रकम निर्धारण गरिने निर्णय गरेको थियो ।

वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो तीन आर्थिक वर्षमात्र ३ हजार ८ सय श्रमिकको ज्यान गएको छ । प्रत्येक वर्ष वार्षिक एक हजारको श्रमिकले ज्यान गुमाएका छन् । बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए ।

आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाएका छन् । मृत्युको यो ग्राफ हरेक वर्ष उक्लिरहेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको सडक दुर्घटना, हृदयघात, आत्महत्या, कार्यस्थल दुर्घटना र प्राकृतिक मृत्यु लगायतका विभिन्न कारणबाट श्रमिकहरुको ज्यान जाने गरेको छ । नेपालबाट वार्षिक साढे सात लाख श्रमिकहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ