सिरहा, २८ फागुनः


यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् ।
धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र महासेठका अनुसार आँप प्रायः एक वर्ष विराएर फल्ने भएकाले यसवर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मञ्जरी लागेको हो । “आँपका बोटमा राम्रो मञ्जरी देखिएको छ । यसवर्ष उत्पादन बढ्ने सङ्केत गरेको छ । मञ्जरी जोगाउन किसानलाई प्राविधिक सहयोग उपलब्ध गराइरहेका छौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार मञ्जरी जोगाउन किसानले एक पटक औषधि छरिसकेका छन् भने चिचिला लागेपछि फेरि औषधि छर्ने तयारी गरिरहेका छन् । जिल्लाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरेर किसानलाई आवश्यक प्राविधिक सहयोग प्रदान गरिँदै आएको उहाँले बताउनुभयो ।
सिरहामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँपखेती हुने गरेको छ । आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले किसान पछिल्लो समय यसतर्फ आकर्षित हुँदै गएका छन् ।
—
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














