काठमाडौँ, १२ चैत

: सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुग्नुभएका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै हुनुहुन्थ्यो । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै हुनुहुन्थ्यो ।

सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका लागि शपथ समारोहको आयोजना गरेको थियो । समारोहमा सहभागी हुन सांसदहरु आ–आफ्ना वेशभूषामा सजिएर संसद् भवन पुग्नुभएको थियो । शपथ समारोहको समय नजिकिँदै गर्दा भवन परिसरमा रहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य सहयोगीको ध्यान भवनको दक्षिणतर्फको प्रवेशद्वारतर्फ केन्द्रित थियो ।

अपराह्न करिब १ बजेर ५५ मिनेट जाँदा दक्षिणतर्फको प्रवेशद्वारबाट प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार बा.प्र ०१ ०३३ च ७८८१ नम्बरको निजी गाडी संसद् भवनको मूल प्रवेशद्वार अघि रोकियो । गाडीबाट ओर्लेर संसद् भवनको मूल प्रवेशद्वारतर्फ प्रस्थान गर्ने क्रममा उहाँ सञ्चारकर्मीको घेरामा पर्नुभयो ।

सञ्चारकर्मीको घेरामुक्त गरेर नेता शाहलाई भवनको बहुउद्देश्यीय हलमा जाने ढोकातर्फ ल्याउन सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । सुरक्षाकर्मीको सहयोगमा शपथ हलतर्फ जाने क्रममा उपस्थित महानुभावले ‘बालेन सरकार’ भन्दै अभिवादन टक्र्याउँदा नेता शाह मुस्काउँदै भित्र प्रवेश गर्नुभयो ।

कालो कोटमा किराँती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’ पहिरिएर नेता शाह शपथ समारोहस्थल प्रवेश गर्नुभयो । किराँती भाषामा ‘सि’ को अर्थ मृत्यु र ‘लाम’ अर्थ बाटो भन्ने हुन्छ । सिलाम साक्मा लगाउँदा मृत्युको बाटो छेकिन्छ भन्ने विश्वास गरिन्छ । यसले शुभ सङ्केतको अर्थ पनि जनाउँछ भने यसलाई खासगरी रक्षा कवचका रुपमा लिइन्छ । समारोह स्थलमा उहाँ बैठक कक्षको पहिलो लहरमा बस्नुभयो । रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित उहाँको दायाँतर्फ सभापति रवि लामिछाने र बायाँतर्फ उपसभापतिद्वय डिपी अर्याल र डा स्वर्णिम वाग्ले रहनुभएको थियो ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले शपथ समारोहमा सहभागी नवनिर्वाचित सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकको अध्यक्षता गरिरहनुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उपस्थित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । शपथ समारोह सकिएलगत्तै वरिष्ठ नेता शाह संसद् भवनबाट आफैँ गाडी चलाएर बाहिरिनुभयो ।

झापा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रस्तावित गरेको छ । रास्वपाले नेता शाहलाई संसदीय दलका रुपमा चयन गर्ने तयारी गरेको छ । त्यसका लागि आजै अपराह्न बैठक आह्वान गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा १८२ सिटसहित संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित शाह युवापुस्ताबीच लोकप्रिय हुनुहुन्छ । पेसाले ‘स्ट्रक्टचरल इन्जिनियर’ शाह चर्चित ‘-यापर’का रुपमा पनि परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ