काठमाडौँ, १२ चैतः


पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सांसदहरुले आज पद तथा गोपनीयताको सपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसदहरु अलमलमा परेर सपथ हुने समय २ः०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै हुनुहुन्थ्यो ।
मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो । भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो ।
जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ । विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।
कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुग्नुभएको थियो ।
सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उहाँहरुलाई झन् अलमल भएको थियो । आफै गाडी चलाएर आउनुभएका नेता शाह सपथपछि अरुभन्दा चाँडै बाहिरिनुभएको थियो । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो ।
नयाँ वानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरुका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो । हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र सपथस्थलमा प्रवेश पाएका थिए । दर्शकदीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भईँ तलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो ।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो । सपथपछि सांसदहरुलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । सपथमा आएका सदस्यहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि ल्याउनुभएको थियो ।
रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याउनुभएको थियो । सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञाशाको पात्र बन्नुभएको थियो । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरु आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आउनुभएको थियो । अपाङ्गता भएका सांसदहरु ह्विलचेयरमा आउनुभएको थियो ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














