अबुजा, १० कात्तिक
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । घटनापछि हजारौँ मानिस विस्थापित भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ ।



निकायका राज्य प्रमुख लादान आयुबाका अनुसार फिरौतीका लागि अपहरण र अन्य आपराधिक गतिविधिमा सङ्लग्न ‘ब्यान्डिट’ भनिने समूहले शुक्रबार ताराबा राज्यको करिम–लामिडो स्थानीय सरकारी क्षेत्रअन्तर्गत पर्ने बिनारी समुदायमा आक्रमण गरेका थिए ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायका अधिकारीले हालसम्म ५२ वटा शव फेला परेको जनाएका छन् । तीमध्ये १५ वटा शव बेनुए नदीबाट निकालिएका हुन् ।
ताराबा प्रहरीका प्रवक्ता भिक्टर म्शेलिजाका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो ।
“हाम्रा टोलीहरू अझै घटनास्थलमा खटिएका छन् । थप शव फेला पर्दै जाँदा मृतकको सङ्ख्यामा समावेश गर्दै जानेछौँ,” उहाँले एसोसिएटेड प्रेस (एपी) लाई बताउनुभयो ।
एम्नेस्टी इन्टरनेसनल नाइजेरियाका निर्देशक इसा सानुसीका अनुसार आक्रमणकारीबाट बच्न भागेका मानिसहरू नदीमा हामफाल्न बाध्य भएका थिए । आक्रमणकारीहरूले सर्वसाधारणलाई लखेट्दै नदीतर्फ धकेलेका कारण धेरै मानिस नदीमा पुगेको उहाँले बताउनुभयो ।
नाइजेरिया पछिल्लो समय गम्भीर सुरक्षा सङ्कटसँग जुधिरहेको छ । देशका विभिन्न क्षेत्रमा सक्रिय आपराधिक समूहहरूले फिरौतीका लागि सामूहिक अपहरण गर्ने र अवैध खानी क्षेत्रहरूमा नियन्त्रण कायम गर्ने गरेका छन् ।
यसका अतिरिक्त बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सजस्ता इस्लामवादी सशस्त्र समूहले पनि सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














