अछाम, ११ कात्तिकः जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति सदस्य र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्यहरुले विकास निर्माणका कार्यलाई गति दिन जोड दिएका छन् ।



जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा पूर्वाधार विकास समितिका सदस्य भरतकुमार स्वार र सार्वजनिक लेखा समितिका सदस्य यज्ञबहादुर बोगटीको उपस्थितमा यहाँ आज आयोजित छलफल कार्यक्रममा विकास आयोजनाका प्रमुखहरुले आफ्नो कार्यालयमा भए गरेका विकास निर्माणका गतिविधिबारे जानकारी गराएका थिए ।
छलफल कार्यक्रममा पूर्वाधार विकास समितिका सदस्य भरतकुमार स्वारले अछाम जिल्लाका विकास निर्माणमा भएका समस्या र ढिलासुस्तीको निराकरण गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो । अछामका विभिन्न विकास निर्माणका आयोजनामा बजेट अभावको समस्या देखिएकाले बजेट माग गर्न सम्बन्धित निकायलाई झकझक्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
त्यस्तै सार्वजनिक लेखा समितिका सदस्य यज्ञबहादुर बोगटीले विकास निर्माण आयोजनाका प्रमुखहरुबाट अछामको विकासको सवालमा आफूसँग आएका अपेक्षाको सम्बन्धित निकायलाई जानकारी गराइ विकास निर्माणमा आएको समस्या समाधान गर्न खबरदारी गर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालयका प्रमुख बलिराज मल्लले राज्यले आवश्यक बजेट विनियोजन नगर्दा विकास निर्माणमा समस्या भएको बताउनुभयो । अछाम र बाजुरा जिल्लाको १७१.८ किमि सड्क मर्मतसम्भारको काम सडक डिभिजनले गर्दै आएकामा अहिले मध्यपहाडी पुष्पलाल राजमार्गको ६० किलोमिटर सडक यो वर्षदेखि सडक डिभिजन मातहत आएपछि कार्यालयलाई झन आर्थिक भार बढेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशको ‘गेम चेन्जर’ आयोजनाका रूपमा हेरिएको सेती राजमार्गमा आवश्यक बजेट विनियोजन नहँुदा हालसम्म पनि आयोजना निर्माण हुन नसकेको उल्लेख गर्दै सेती राजमार्ग अछाम खण्डका इन्जिनियर युवराज जोशीले सरकारले ठूलो बजेटको ठेक्का लगाउँदा सडक निर्माण पनि दु्रत गतिमा हुने बताउनुभयो ।
अछामको साफेबगरदेखि कैलालीको बौनियासम्म १२५ किलोमिटरको दूरी रहेको छोटो मार्ग अछामी जनता र समग्र सुदूरपश्चिम पहाडका जनताको ‘लाइफलाइन’ (जीवनरेखा) मानिन्छ । उक्त सडक हालसम्म कैलालीतर्फ ७२ किलोमिटर ट्र्याक खोलिएको छ भने डोटीतर्फ ४० किलोमिटरमध्ये १० किलोमिटर, अछामतर्फ ८८ किलोमिटरमध्ये ६० किलोमिटर सडक ट्र्याक खोलिएको छ भने बाजुरातर्फ १२ किलोमिटर रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको बजेट निर्माणको प्रक्रिया समयमा नहुँदा हालसम्म प्रदेशअन्तर्गतका कुनै पनि आयोजनाका काम अछाममा अगाडि बढ्न सकेका छैनन् । प्रदेश सरकारले घोषणा गर्ने टुक्रे आयोजना बन्द गर्नुपर्ने र यसका लागि सङ्घीय सरकारबाट कानुन नै निर्माण गरेर टुक्रे आयोजनाका लागि बजेट विनियोजन गर्न नपाइने बाध्यकारी व्यवस्था गरे मात्रै विकास आयोजनाको प्रगति देखिने कार्यक्रममा उपस्थित प्रदेश सरकारअन्तर्गत विकास निर्माण आयोजनाका प्रमुखहरुले बताएका छन् ।
एउटै जिल्लाबाट दुईवटा जिल्लाको कार्यक्रम सञ्चालन गर्दा कार्यालयले आर्थिक भार व्यहोर्नुपर्ने परेको र यसले विकास प्रगति नदेखिने गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अछामका कृषि अधिकृत दिपेश कठायतले बताउनुभयो । यो आर्थिक वर्षमा अछाम र बाजुरा जिल्लामा कृषि कार्यक्रम सञ्चालन गर्न सङ्घीय सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालयले रु तीन करोड २९ लाख चालुतर्फको बजेट विनियोजन गरेको छ ।
एउटै कार्यालयले दुई वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्नुपर्दा भौगोलिक रूपमा पनि कार्यक्रम सञ्चालनस्थल टाढा र सही समयमा कृषकलाई प्रशिक्षण दिन नसक्दा कार्यक्रम कार्यान्वयन प्रभावकारी रुपमा गर्न नसकिएको कृषि अधिकृत कठायतले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशकै प्रचुर सम्भावना बोकेको पर्यटकीयस्थल रामारोशन जाने सडक निर्माणमा संलग्न व्यवसायीले समयमै निर्माण नगर्दा रामारोशन घुम्न आउने पर्यटकले सास्ती खेप्नुपरेको रामारोशन पर्यटन विकास समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले राजनीतिक नेतृत्वले नीति तथा बजेट निर्माण गरे पनि त्यसलाई नागरिकको घरदैलोसम्म पुर्याउने काम कर्मचारीको हातमा भएको बताउनुभयो । विकास निर्माणको सवालमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले विकास निर्माणमा देखिएको समस्यालाई नियाल्दै समयमै त्यसको समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।
–––













