रेवा घिमिरे

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि चैत १ देखि ७ सम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिएको डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले बताउनुभयो ।

। कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापीरूपमा कार्यक्रमलाई अगाडि बढाएको डिभिजन वन अधिकृत काफ्लेले बताउनुभयो । “चैत १ देखि सुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्वतयारीका कार्यक्रम गरिएको छ”, उहाँले भन्नुभयो ।

वनमा डढेलो लाग्न नदिन सबै नागरिलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले यस जिल्लाको अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक र सुरक्षा अपनाउन आग्रह गर्नुभयो ।

“वन जङ्गलमा सुक्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुनसक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय बारे सरोकारवालालाई जानकारी गराउने काम गरिएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापकरुपमा सुचित गरिएको छ ।”

नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको तथ्याङ्कमा देखिएको छ । मानवीय कारणले ९६ प्रतिशत, प्राकृतिक कारणले १ प्रतिशत र ४ प्रतिशत वन डढेलोका कारण थाहा नभएको काफ्लेले बताउनुभयो । “घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको सिकारका लागिसमेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठूलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्तिको रोकथामका लागि काम गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

डढेलोले जनधन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, नेपाली सेनासँग सहकार्य गरी अभियान सञ्चालन गरिएको हो ।

यसैबीच आगलागीका कारण निम्तिने विपद्लाई न्यूनीकरण गर्न जिल्लाकै देवचुली नगरपालिकामा फायर हाइड्रेन्ट जडान गरिएको छ । सम्भावित घटनालाई सहज वातावरण सिर्जना गर्न फायर हाइड्रेन्ट जडान गरिएको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ