रेवा घिमिरे
काठमाडौँ, ३१ असार



पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।
सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उहाँले सुनाउनुभयो । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।
साउनको सोमबार रु सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । यसैगरी वासुकीनाथको मन्दिरमा रु तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । एक सय ८१ देखि दुई सय ५१ जनासम्मले विशेष पूजा गर्ने गरी व्यवस्था मिलाइएको छ । त्यसभन्दा बढीलाई सोमबार पूजा गराउन नसकिने कोषले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










