काठमाडौँ        , २ साउन

पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति क्षेत्रमा भीड लागेको छ ।
बाँसबारीबाट साउने सोमबार पारेर पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउनुभएकी सुशीला गिरी लामो लाइनका कारण बाहिरबाटै दर्शन गरेर फर्कनुपरेको बताउनुहुन्छ । विसं २०७७ र २०७८ का साउन महिनामा कोरोना महामारीका कारण मन्दिर बन्द गरिएकाले यस वर्ष धेरै भक्तजन दर्शनका लागि आएका छन् ।

साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपति क्षेत्र विकास कोषले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्ने गरी व्यवस्था मिलाइएको छ ।
आज विशेष पूजाका लागि १६० भक्तजनले रसिद काटेका छन् । साउन महिनामा रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । कोषले साउन १ गतेदेखि विशेष पूजाको शुल्क रु एक हजार १०० बाट बढाएर रु दुई हजार १०० पु¥याएको छ ।

राजधानीका अन्य शिवालयमा पनि भक्तजनको भीड
राजधानीका अन्य शिवालयमा पनि रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले भरिभराउ देखिन्छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउनुहुन्छ ।

घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजा आजा गर्छन् । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । साउन २, ९, १६, २३ र ३० गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यता समेत छ । विशेष कामना सहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्र सहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
गोकर्णेश्वर मन्दिरमा भक्तजनको लर्को
यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारका अवसरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ