गण्डकी, २६ भदौ
हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ । विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन् ।



मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहिआएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ आउने गरेको उहाँले बताउनुभयो । “यस वर्ष सोह्र श्राद्धको पहिलो दिन आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ”, उहाँले भन्नुभयो, “पितृले मोक्ष प्राप्त गरी भावी सन्ततिलाई सुख, शान्ति र समृद्धि हुने विश्वासले टाढाटाढाबाट मन्दिरमा दर्शनार्थी आउने गर्दछन् ।”
मन्दिर आएका दर्शनार्थीले यहाँका एक सय आठ धारामा स्नान गरी पूजाआजा गर्दछन् । एक सय आठ धाराको पानीलाई बोत्तलमा भरेर घरघरमा तीर्थ जलका रुपमा लैजाने प्रचलन छ । प्रकृति र संस्कृतिको अनुपम गन्तव्य मुक्तिनाथ धार्मिक दृष्टिका साथै पर्यटकीयरुपमा पनि उत्तिकै महत्वपूर्ण छ । अघिल्ला दुई वर्ष कोरोना कहरले यहाँको धार्मिक पर्यटन प्रभावित भए पनि यस वर्ष भने पर्यटकको आगमन राम्रो हुने विश्वास लिइएको मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा होटेल ग्रान्ड साम्बाला सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी सुरज गुरुङले बताउनुभयो ।
–
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














