काठमाडौँ, १६ असोज
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा विशेष ‘फूलपाती बढाइँ समारोह–२०७९’ सम्पन्न गरिएको छ ।
फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीमा नेपाली सेनाको सम्मान गारतले सलामी अर्पण गरेको थियो ।



हिन्दू नेपालीहरुको महान पर्व बडादसैंको सप्तमी तिथि (फूलपाती) को दिन आयोजना हुने उक्त समारोहमा नेपाली सेनाद्वारा प्रस्तुत परेड, राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट गरिएको बढाइँको राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित विशिष्ट महानुभावहरुले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
उक्त समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगणलगायत सरकारी निकायका उच्चपदस्थ अधिकारीहरुको सहभागिता थियो । फूलपाती बढाइँ समारोहअन्तर्गत आयोजित परेड प्रदर्शनमा सेनाले दुर्गायन्त्रको चिह्न बनाएर प्रस्तुत गरेको थियो ।
सेनाको बढाइँ टोलीले राइफलबाट विभिन्न पाटाहरुबाट छिटो लहरे, एकठ्ठा र दुर्गायन्त्र आकृतिसमेत बनाई बढाइँ गर्नुका साथै तोपबाट पनि बढाइँ गरेको थियो । यस्तै कार्यक्रममा नेपाली सेनाको महिला गुल्मसमेत सम्मिलित टोलीबाट मार्च पास प्रदर्शन गरिनुका साथै नेपाली सेनाको ब्यान्डबाट मालश्री धुन तथा दुर्गा भजनको धुनसमेत प्रस्तुत गरिएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














