राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री र केन्द्रीय सदस्यबाट निष्कासित डा‍.मुकुल ढकालले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

पार्टीले कारबाही गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि नै प्रश्न उठाएका हुन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी भित्रैबाट समिति गठन गरी छानबिन गर्नुपर्ने बताएका हुन्। उक्त समितिमा रहने व्यक्‍तिहरू पनि लाइभ प्रक्रियाबाट छनौट गर्नुपर्ने उनको माग छ।

‘उच्चस्तरीय स्‍वतन्त्र छानबिन समिति गठन हुनुपर्यो। रवि लामिछाने सहकारी ठगीमा संलग्न छन् वा छैनन् त्यसका लागि पार्टी भित्रबाट समिति बनाउनुपर्छ,’ उनले भने, ‘त्‍यो समितिमा जो स्वतन्त्र व्यक्तिहरू हुन्छन् त्यो रवि लामिछानेको पकेटबाट होइन। लाइभ माध्यमबाट जसरी राजदूत छनौटको प्रक्रिया हामीले निर्धारण गरेका थियौं त्यसरी नै प्रक्रिया निर्धारण गरेर स्वतन्त्र व्यक्तिहरूलाई छनौट गर्नुपर्‍यो।’

सर्वोच्च अदालतले गत बिहीबार गरेको फैसलाबारे पनि उनले बताएका छन्। फैसलाले लामिछानेमाथि छानबिन हुनुपर्ने एकमतको फैसला दिएको उनले बताए। राजीनामा दिनुपर्ने वा नपर्ने भन्ने विषयमा न्यायाधीश सपना प्रधान मल्लले नैतिक विषय भएको र सारंगा सुवेदीले राजीनामा दिनुपर्ने भन्नेमा मात्रै राय बाझिएको बताए।

‘सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्छ भनेर भनेको छ। व्यक्‍तिको नैतिक चरित्रको कुरामा मत बाझिएको हो। त्यही कुरामा मात्रै राय फरक भएको हो,’ उनले भने। लामिछानेले राहदानी पनि दुई वटा बनाएको उनको आरोप छ।

‘उहाँको दुई वटा पासपोर्ट छ। फेरि आज आएर किन आरोप लगाइस् भनेर भन्नुहोला। उहाँको दुईटा पासपोर्ट हुँदा आम नेपाली सरह विदेश जानुभयो। विदेश जाँदा विधि, पद्धति, प्रक्रिया जान्नुभएन होला। नजानेको कारणले दुई वटा हुन पुग्यो। कानुनी रूपमा गल्ती गर्नुभयो। तर राजनीतिक रूपमा गल्ती छैन। यो मान्छेलाई जोगाउनुपर्छ भन्ने तरिकाले म लागेँ,’ उनले भने।

यो मुद्दामा उनी दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उनले भने, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’

जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उनले आगामी महिना प्रस्ताव यात्रा सुरु गर्ने र कसरी जाने भनेर जनतालाई सोध्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ