‘बुलाकी’ सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट फिल्म’को ट्रफी उचाल्यो ।चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान गरे ।
उक्त अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार २०८० र सोही वर्षको विशेष चलचित्र पुरस्कार वितरण गरियो । कर्णालीकी एक निःसन्तान महिलाको कथा पेश गर्ने फिल्म ‘बुलाकी’ले सबैभन्दा धेरै ३ विधा जित्दा ‘दिमाग खराब’ दुई विधामा उत्कृष्ट ठहरियो । राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


बाँसुरी फिल्म्सको सोसल ड्रामा ‘जारी’ले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट व्यवसायिक फिल्मको विधा जितेको छ । यसवर्षदेखि धेरै कमाउने फिल्मलाई पुरस्कृत गर्न थालिएको हो । चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार ‘जारी’ले १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो । उसले ६ लाख १९ हजार टिकट विक्री गरेको थियो ।
समाजमा छोरीको महत्वको सन्देश दिने लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ नेपाली भाषातर्फ विशेष फिल्म घोषित भयो । लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष चलचित्र घोषित भए । विशेष फिल्म घोषित भएसँगै तीनै फिल्मले दुई दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । फिल्मको सबटाइटलिङको लागि नगद पुरस्कार दिइने चलचित्र विकास बोर्डले जनाएको छ ।
राष्ट्रिय चलचित्र पुरस्कारको सन्दर्भमा आयोजित समारोहमा विशेष चलचित्र पुरस्कार दिइएको हो ।
राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत छन् ।
सर्वोत्कृष्ट फिल्म : बुलाकी
सर्वोत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
सर्वोत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
सर्वोत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
सर्वोत्कृष्ट पटकथा तथा संवाद : राजबहादुर साने (बुलाकी)
सर्वोत्कृष्ट छायांकन : शिव ढकाल (बुलाकी)
सर्वोत्कृष्ट सम्पादन : मित्र डी गुरुङ (महाजात्रा)
सर्वोत्कृष्ट आदिवासी जनजाति फिल्म : लोजिमा (लिम्बु भाषा)
प्रोत्साहन पुरस्कार : स्वस्तिमा कार्की (टुल्की)
सर्वोत्कृष्ट व्यवसायिक फिल्म : जारी
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














