धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोधमा जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो । उनीहरूविरुद्ध १२ मंसिरमा अदालतबाट पक्राउ पुर्जी जारी भएको धादिङ प्रहरी स्रोतले बतायो ।
पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।


उनीहरूविरुद्ध कीर्तेको कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले बताए । ‘कीर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी अनुसन्धान गर्दैछौं,’ शाहीले अनलाइनखबरसँग भने । उनीहरूविरुद्ध सरकारी कागजात कीर्ते गरेको आरोप छ । प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएकी जमुना परियारको छोराको उमेर बढाएर दोस्रो जन्मदर्ता बनाइएको थियो ।
जमुना र नाबालक छोराको नाममा जग्गा रहेको र उक्त जग्गा बेच्नका लागि कीर्ते जन्मदर्ता बनाएर नाबालकलाई साबालक बनाइएको थियो । त्यसपछि साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
यसवापत यो समूहले केही रकम समेत लिएको प्रहरीको भनाई छ । ‘मिलेमतोमा नाबालकलाई साबालक हुनेगरी जन्मदर्ता बनाइए जग्गा बेचबिखन गरेर रकम समेत बाँडफाँड गरिएको भन्ने सूचना छ । यसबारेमा प्रतिवादीहरुलाई पक्राउ गरेपछि सत्यतथ्य पत्ता लाग्ला,’ एक अनुसन्धान अधिकृतले भने ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














