प्रभु केवलकारले आईपीओका लागि क्रेडिट रेटिङ्ग सम्झौता गरेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस लिमिटेड लगायतका कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले बिहीबार एक कार्यक्रमकाबीच केयर रेटिङ्स नेपाल लिमिटेडसँग क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।
उक्त क्रेडिट रेटिङ्ग सम्झौता पत्रमा प्रभु केवलकार एण्ड टुरिजमको तर्फबाट वरिष्ठ महाप्रबन्धक सन्दिप दाहालले हस्ताक्षर गरेका छन् भने केयर रेटिङ्सको तर्फबाट कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । आईपिओ निष्कासन गर्ने सम्बन्धमा आगामी वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्ने तयारी स्वरुप प्रभु केवलकारले क्रेडिट रेटिङ्ग सम्झौता गरेको हो ।



यो सम्झौता सँगै अब प्रभु केवलकारले दुई महिनाभित्र आफ्नो क्रेडिट रेटिङ्ग सम्झौता सम्पन्न गरी धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासनको लागि आवेदन दिनेछ । प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडि बढेका छन् । बुटवलस्थित भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत २०८१ साल भाद्रदेखि व्यवसायिक सञ्चालनमा आई सकेको छ । प्रभु केवलकार नै उक्त सिद्धार्थ केवलकारको मुख्य लगानीकर्ता कम्पनी हो ।
यो केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् । त्यस्तै प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुर पश्चिमस्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ ।
केवलकार परियोजना निर्माणमा कृयाशिल यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने यो कम्पनी ऋण मुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित कम्पनी रहेको छ । कम्पनीले आईपीओबाट आउने सम्पूर्ण रकम ईच्छाकामना केवलकार र बडीमालिका केवलकार निर्माण गर्न खर्च गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














