काठमाडौँ, २३ चैतः

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरेर सवारी चलाउने चालकविरुद्ध कडा निगरानी तथा कारबाही अभियान सुरु गरेको छ ।

पछिल्ला दिनहरूमा बढ्दो सवारी दुर्घटनाका मुख्य कारणमध्ये मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) तथा ट्राफिक नियम उल्लङ्घन पनि रहेको निष्कर्षपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान नै सञ्चालन गरेको हो ।

उक्त अभियानमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित आफैँ सडकमा खटिने गर्नु भएको छ भने ‘कन्ट्रोल रुम’मा बसेको टोलीले कहाँ कुन नम्बरको सवारीसाधनले नियम उल्लङ्घन गरेको छ, सो विषयमा जानकारी दिने गरेको बताइएको छ ।

ट्राफिक प्रहरीले बिहान सबेरै सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी तथा दिउँसो र साँझतिर विशेषगरी दुईपाङ्ग्रे सवारीसाधनका चालकहरूलाई केन्द्रित गरेर विभिन्न स्थानमा चेकजाँच सुरु गर्ने गरेको छ ।

अहिले राजधानीका मुख्य चोक, व्यस्त सडक तथा दुर्घटना बढी हुने स्थानहरूमा ट्राफिक प्रहरी परिचालन गरी चालकहरूले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेका छन् वा छैनन् भन्ने परीक्षण गरिँदै आएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार एक जना चालकले सार्वजनिक सवारीसाधनमा दर्जनौँ यात्रुको जिम्मेवारी बोकेको हुन्छ, त्यसैले चालकको सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

उहाँले भन्नुभयो, “एक जना चालकले दर्जनौँ यात्रु बोकेर यात्रा गराइरहेको हुन्छ । यदि त्यही चालकले मापसे वा लापसे गरेर सवारी चलायो भने दुर्घटना भए त्यसको जिम्मेवारी कसले लिन्छ ? हाम्रो मुख्य उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु हो । त्यसैले मापसे र लापसे गरेर सवारी चलाउने चालकविरुद्ध कडा रूपमा प्रस्तुत हुन्छौँ ।”

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत हालसम्म दर्जनौँ सार्वजनिक सवारीसाधनका चालकहरू मापसे र लापसे सेवन गरी सवारी चलाएको पाइएपछि कारबाहीमा परिसकेको जनाएको छ । पक्राउ परेका चालकहरूलाई ट्राफिक नियमअनुसार जरिवाना गर्नाका साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

यसैबीच, ट्राफिक प्रहरीले अबदेखि मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने, सडकका ‘डिभाइडर’मा ठोक्काएर सवारी चलाउने तथा यात्रुको ज्यान जोखिममा पार्ने चालकहरूको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नै खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने तयारी गरेको छ ।

लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति नियन्त्रण नगरेसम्म दुर्घटना न्यूनीकरण सम्भव नहुने भएकाले अब कडा कदम चाल्नुपर्ने अवस्था आएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी बताउनुभयो । उहाँले भन्नुभयो, “लापरबाहीपूर्वक सवारी चलाउने प्रवृत्ति अब सह्य हुँदैन

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ