काठमाडौँ, ३० चैत :

ललितपुरस्थित पाटन दरबार परिसरमा जर्मनीका प्रख्यात फोटोग्राफर आन्द्रेज वाल्कुजको मानवीय संवेदनायुक्त फोटो प्रदर्शनी आजदेखि सुरु भएको छ ।

विश्वभरका मानव मुहारको गहिराइ, भावना र सत्यतालाई कैद गर्ने वाल्कुजको ‘बाबेल’ शीर्षकको श्यामश्वेत फोटो प्रदर्शनी नेपालका लागि जर्मनीका राजदूत उडो युगेन भोल्जले आज पाटन दरबार परिसरमा उद्घाटन गर्नुभयो ।

नेपालमा जर्मन फोटोग्राफरको फोटो प्रदर्शनी हेर्न पाउनु खुसीको कुरा भएको राजदूत भोल्जले बताउनुभयो । राजदूत भोल्जले भन्नुभयो, “उहाँले खिच्नुभएको फोटोहरूमा उहाँको आफ्नै कलात्मकपन देखिन्छ, तपाईँहरूले हेरेपछि देख्नुहुन्छ कि कस्तो तरिकाले उहाँले मानिसका भावहरु फोटोमा उतार्नुभएको छ ।”

फोटोग्राफर वाल्कुजलाई नेपालको फोटो छ कि छैन भनेर राजदूतले गरेको प्रश्नमा वाल्कुजले नेपाल निकै सुन्दर र रङ्गीन रहेको बताउँदै ती फोटोहरू अर्कोपटक रङ्गीन तस्वीरसहित प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले वाल्कुजका फोटोका भावहरू निकै गहन रहेको औँल्याउनुभयो । पोट्रेट तर श्यामश्वेत फोटोहरूको आफ्नै कलात्मक महत्व रहेको भन्दै उहाँले विगतमा जर्मन पुगेर त्यहाँ आफूले पनि कला प्रदर्शनी गरेको स्मरण गर्नुभयो ।

फोटोग्राफर वाल्कुजले आफूले जीवनभर मानिसहरू, संस्कृति र कथाहरू अवलोकन गरेर यी फोटोहरू फ्रेममा उतार्न सफल भएको बताउनुभयो । ललितकला गुठीको आयोजनामा सुरु भएको उक्त फोटो प्रदर्शनी आगामी वैशाख ५ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ