त्रिशूली (नुवाकोट), ९ वैशाख :

नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधैँ उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले आजदेखि कृषि हाटबजार केन्द्र सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय बजारमा देखिएका असन्तुलित मूल्य अवस्था र त्यसमार्फत विचौलिया हाबी भएको भन्दै नियन्त्रणका लागि हाटबजार सञ्चालनमा ल्याइएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार किसानले उत्पादन गरेका कृषिउपज सामग्रीसहित घरेलु तथा हस्तकलामार्फत उत्पादन गरेका सामग्री हाटबजारमा उचित मूल्यमा बिक्री गर्ने प्रबन्ध मिलाइ उपभोक्ताले ताजा र गुणस्तरीय सामग्री सहुलियत शुल्कमा पाउने व्यवस्थाको सुनिश्चित गरिएको छ ।

“किसानले उत्पादन गरेका सामग्री बिक्री गर्न नगरले निःशुल्क स्थान उपलब्ध गराएकाले सहुलियत शुल्कमा उपभोक्तासमक्ष प्रत्यक्ष पु¥याउन सहज बन्नेछ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “उपभोक्ताबाट गरिएको मागअनुसारर सञ्चालनमा ल्याइएको हाटबजारमा कृषि सामग्रीमा नदेखिने गरेर भइरहेको विचौलिया अन्त्य गर्न सकिने विश्वास छ ।”

किसानले उत्पादन गरेका सामग्री व्यवसायीमार्फत उपभोक्तामाझ पु¥याउँदा यसबीचमा हुने विभिन्न चरणका कारोबारले लगानी दोब्बर पुग्ने गरेको छ । किसानले लगानीअनुसार मूल्य नपाएको गुनासो र उपभोक्ताले लगानी गरेको महँगो शुल्कमा ताजा र गुणस्तरीय सामग्री नपाएको समस्याको प्रमुख कारण व्यवसायका नाममा देखिएका विचौलियाको गतिविधि रहेको नगरपालिकाको बुझाइ छ ।

सोही गुनासो र समस्यालाई मध्यनजर गर्दै नगरपालिकामार्फत गठित समितिले गरेको अध्ययन र दिएको सिफारिसका आधारमा हरेक आइतबार सेवा दिने गरेर हाट बजार केन्द्र सञ्चालमा ल्याएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

किसान र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले नगरपालिकाले गत मङ्सिरदेखि वडा नं ९ कोलनीमा हाटबजार सञ्चालनमा ल्याइएको थियो । उक्त बजारको प्रभावकारिता र थप स्थानबाट आएको मागका आधारमा वडा नं ४ स्थित हावाघरमा हाटबजार केन्द्रको विस्तार गरिएको हाटबजार कार्यक्रम सञ्चालनका संयोजक श्रीकृष्ण रिजालले जानकारी दिनुभयो । उहाँको अनुसार हाटबजारमा किसान तथा उद्यमीको उत्पादित सामग्री बिक्रीका लागि निःशुल्क स्थान उपलब्ध, मूल्य निर्धारण, बिक्रीको सुनिश्चितता नगरपालिकाले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ