नारायणगढ (चितवन), १५ वैशाखः


यहाँको भरतपुर महानगरपालिका–१० मा निर्माण सम्पन्न भएको राष्ट्रिय समाचार समिति (रासस) को तालिम केन्द्र भवन आज हस्तान्तरण गरिएको छ । आज यहाँ सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख कृष्णकुमार महर्जनले राससका महाप्रबन्धक सन्दीप राईलाई भवनसम्बन्धी कागजात हस्तान्तरण गर्नुभयो । कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य डिल्लीराम भट्टराई, रासस चितवन प्रमुख नारायण अधिकारी र आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा महाप्रबन्धक राईले राज्य र नागरिकबीच सूचना प्रवाहमा राससले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले देशका ७७ जिल्लामा रहेका स्थानीय समाचारदाता र सबै प्रदेशमा रहेका कार्यालयमार्फत राससले दैनिक करिब पाँच सय ५० समाचार सामग्री उत्पादन गर्दै आएको जानकारी दिनुभयो ।
महाप्रबन्धक राईले भरतपुर तालिम केन्द्र भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेकामा आयोजना कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देशको केन्द्र भागमा रहेको चितवनमा राष्ट्रिय तालिम केन्द्र स्थापना हुनु हाम्रो लागि महत्त्वपूर्ण उपलब्धि हो । अब देशभरका राससकर्मी तथा पत्रकारलाई यही केन्द्रमा तालिम दिने योजना छ । यहाँ अन्य सरकारी निकायका तालिमका लागि पनि तालिम केन्द्र उपयोगी हुने विश्वास छ । भवन सञ्चालनका लागि छिट्टै आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ ।”
कार्यक्रममा आयोजना प्रमुख महर्जनले भवनको संरचनाबारे जानकारी दिँदै ‘बेसमेन्ट’सहित चारतले भवन निर्माण गरिएको र आवश्यक परे भविष्यमा तला थप्न सकिने गरी ‘डिजाइन’ गरिएको बताउनुभयो । उहाँले भवन तालिम केन्द्रका रूपमा प्रभावकारी रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
भवनका लागि विसं २०८० जेठ ८ गते ऋषि शक्ति बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग सम्झौता गरी निर्माण सुरु गरिएको थियो । उक्त भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेनागृह तथा कार्यालय कक्षलगायत सुविधासम्पन्न पूर्वाधार रहेका छन् । केन्द्रमा एकैपटक ३० जनालाई आवासीय सुविधासहित तालिम दिन सकिने व्यवस्था गरिएको छ ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














