काठमाडौँ, २८ जेठः


परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गर्नुभएको धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित रहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा मन्त्री खनालले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि–सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताबाट सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँका अनुसार सदियौँदेखि खुला सीमाका कारण कतिपय सीमा क्षेत्रमा दशगजा वरपर ‘क्रस होल्डिङ’ को अवस्था रहेको छ । आन्तरिक सहमतिअनुसार स्थानीयवासीले वारिपारी खेतीपाती गर्दै आएको अवस्थाबारे प्रधानमन्त्री शाहले उल्लेख गर्न खोज्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री खनालले प्रधानमन्त्री शाहले सीमा सम्बन्धी जवाफका क्रममा नेपालको सिमाङ्कन सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै मित्रराष्ट्र संयुक्त अधिराज्यको सन्दर्भ पनि उठाउनुभएको स्पष्ट पार्नुभयो । “यसमा तेस्रो पक्षको मध्यस्थता हामीले खोजेका होइनौँ,” मन्त्री खनालले भन्नुभयो, “तर तत्कालीन अवस्थाका सन्दर्भ सामग्री उपलब्ध भएमा ती सीमा समस्या समाधानमा सहायक हुन सक्छन् भन्ने आशय प्रधानमन्त्री शाहको थियो ।”
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










