उमेश भट्टराई, २९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले मुख्यतयः २ विषयमा पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाइदिएकी हुन् ।

उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

आइतबार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभालाई पठाएको सन्देशमा संविधानको धारा ११को उपधारा ६ बमोजिम वैवाहिक अंगिकृतको व्यवस्थामा विधेयक मौन रहेको उल्लेख गरेकी छन्। संविधानको धारा ११ को उपधारा ६ मा भनिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगिकृत नागरिकता लिनसक्ने छन्।’

उपधारा ६ ले स्पष्ट रुपमा संघीय कानून बमोजिम भनेको तर संसदले पारित गरेको विधेयकमा कुनै व्यवस्था नभएकोमा राष्ट्रपतिले चासो देखाएको स्रोतले बतायो। यस्तै राष्ट्रपति भण्डारीले महिलाले आफ्ना सन्तानलाई नागरिकता दिलाउन स्वः घोषणा गर्नुपर्ने प्रावधानमा पनि प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन् ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएपछि कतिपयले झण्डै २२ वर्षअघि तत्कालिन राजा वीरेन्द्र शाहले नागरिकता संशोधन विधेयकमा लालमोहर नलगाएको घटना सम्झना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ