उमेश भट्टराई, काठमाडौं ।
आज नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् । भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिर लगाएत देश बिदेशका शिवालयहरुमा महिलाहरूको भीड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइँदै आएको छ । हिन्दू नारीका लागि विशेष मानिने तिज पछिल्ला वर्षमा सबै धर्म, समुदाय र जातिको सद्भाव र मिलापको पर्व बन्दै आएको पाइन्छ ।



अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
तस्बिरमा हरितालिका तिज

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । तीज पर्वको अवसरमा सरकारले महिलालाई बिदा दिएको छ ।




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














