काठमाडौँ, २८ भदौः हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।


विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा तोयराज नेपालको छ ।
विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।
नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउनुहुन्छ ।
महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
विकृति बन्दैछ तीजको संस्कृति
पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो सुनिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चिज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उहाँ सुनाउनुहुन्छ ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरूले जोड दिएका छन् । महिनौँअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।
पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ । संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।
दर खाएर सुरु गरिँदै चारदिने तीज
आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यस वर्ष भदौ ३० गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मङ्गलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।
हरितालिका (तीज) पर्वको पौराणिकता
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।
यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको लाम लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।
तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादसैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal









