विराटनगर, १९ फागुन
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको खानेपानी सुधारको आयोजना चाँडै सुरु गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग आग्रह गर्नुभएको छ ।

जापान सरकारले खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु दुई अर्ब सात करोड अनुदान सहयोग उपलब्ध गराउनेछ । उक्त आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनःनिर्माण र विस्तार गरी विराटनगर सहरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

महानगरप्रमुख कोइरालाले जाइका नेपाल प्रमुख ओकुबो अकिमित्सुलाई भेटेर खानेपानी सुधारको आयोजना तत्काल सुरु गर्न आग्रह गर्नुभएको हो । खानेपानी सुधारको योजना कार्यान्वयनमा ढिलाइ भएको भन्दै प्रमुख कोइरालाले जाइकाका नेपाल प्रमुख ओकुबोको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रमुख कोइरालाले आफूले चुनावी घोषणापत्रमै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गराउनुभयो । उहाँले जाइकाले निर्माण गर्ने आयोजना सम्पन्न भएपछि विराटनगरमा देखिँदै आएको खानेपानी समस्या समाधान हुने जिकिर गर्नुभयो ।

प्रमुख कोइरालाले आज नै युएसआइडीकी नेपाल प्रमुख सेपिदाह केभ्यान्सदसित भेटघाट गर्नुभयो । भेटमा विराटनगर महानगरमा आफूले सुशासन, जवाफदेहितासहित सरसफाइ, पार्किङ, फुटपाथ नियन्त्रणलगायत सामान्य कुराबाटै सुधारको सुरुआत गरेको बताउनुभएको थियो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ