उमेश भट्टराई, काठमाडौं
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए । अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९८ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका निर्वाचन कार्यालय स्रोतले जनाएको छ । निर्वाचन कार्यालयले भने आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी छ । संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचित भएपछी निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने उनले बताए ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रहेर निर्दिष्ट कार्यसम्पादन गर्दा निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध पौडेलको प्रतिवद्धता छ । राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।

पौडेल निर्वाचित भएपछी तनहुँका जनतामा आशाको दियो बलेको छ। पौडेल प्रती भरोशा बढेको पाईन्छ। उनको जन्मस्थान बाहुनपोखरीका जनता भन्छन् ‘राष्ट्रपति भएको खुसीयाली गाउँलेसँग मनाइदिए पुग्छ । गाउँ आइरहे हामीलाई खुसी र रमाइलो लाग्ने थियो ।’

पौडेल २०४८ सालको निर्वाचनमा पहिलो पटक तनहुँ–१ बाट सांसद निर्वाचित भए । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ– २ बाट सांसद निर्वाचित भएका उनी त्यसपछि २०५६, २०६४, २०७० मा निरन्तर तनहुँ-२ बाटै निर्वाचित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ