काठमाडौँ, ४ चैत
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा साक्षात्कार तथा धन्यवाद दिन आज आयोजित समारोहमा उहाँले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “संविधान निर्माण गर्ने प्रक्रियामा सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेका कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुराप्रति सदैव सजग रहने प्रण गर्दछु ।” आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै उहाँले नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा सबैमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “मुलुकमा अहिले पनि थुप्रै चुनौती छन् । कोभिड–१९ महामारीपछि विश्वव्यापीरुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । सङ्क्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवं जलवायु परिवर्तनले देखापर्न थालेका असरको न्यूनीकरण तथा राजनीतिक उपलब्धिको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।”

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री, सङ्घीय सांसद, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका सदस्यलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेलले आमन्त्रण अतिथिको सम्मानमा चियापान समारोह आयोजना गर्नुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ