राजेश पोखरेल
काठमाडौँ, २५ वैशाख
काठमाडौँमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौँमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताउनुभएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उहाँले पछिल्लो समय काठमाडौँभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी बढेको बताउनुभएको हो । “काठमाडौँमा दैनिक ‘चेक बाउन्स’ सम्बन्धी ३० देखि ३५ उजुरी प्रहरीकामा आउने गरेको छ, मासिक झण्डै एक हजारभन्दा बढी उजुरी आउँछन्, आर्थिक अपराधका घटनाबाट सजग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेको सङ्ख्यासमेत बढेको उहाँको भनाइ छ । काठमाडौँ प्रहरी प्रमुख कार्कीले रात्रिकालीन व्यवसायलाई सुरक्षित र व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौँको ठमेल, चितवनको सौराहा र कास्कीको बैदाम क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्न विगतमा सरकारले योजना बनाएको भन्दै यस क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ