मोरङ, २७ वैशाख
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाउनुभयो ।
सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गर्नुभयो । उहाँले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”


सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । त्यसैगरी उहाँले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










