काठमाडौँ, ११ जेठ
सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्कनुभएको छ ।

लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो ।

शेर्पाले यही जेठ ९ गते बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाउनुभएको हो । योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्नुभएको छ । यो वर्षको वसन्त ऋतुमा उहाँको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा जेठ ३ गते उहाँले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामीरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ