रेबा घिमिरे           

विराटनगर १७ चैत
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ । प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।

आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ । निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम्बन्धित जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको बताउनुभयो ।

उहाँले महिलाले चासो नदेखाएकाले मुख्य निर्वाचन अधिकृतमा नियुक्ति नभएको हुनसक्ने बताउनुभयो । जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको छ”, उहाँले भन्नुभयो, “प्रदेशमा महिला न्यायाधीश हुनुहुन्थेन कि, भए पनि जान सक्दिन भन्नुभयो कि, बुझ्नुपर्छ ।

पालिकाको निर्वाचन गराउन तोकिएका निर्वाचन अधिकृतमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा विनिता भट्टराई, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पूजा खत्री, इलामको रोङ गाउँपालिकामा उषा श्रेष्ठ, सङ्खुवासभाको पाँचखपन नगरपालिकामा शशी राई, भोजपुरको आमचोक गाउँपालिकामा कल्पना राई, सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा कोपिला राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सङ्गीता न्यौपाने ढुङ्गेल, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकामा कमला काफ्ले र ओखलढुङ्गाको सुनकोसी गाउँपालिकामा कविता फुँयाल रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ