काठमाडौँ, १३ माघ
काठमाडौँ उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ ।

दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जीनियर सुमित केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ ।”

उत्तरतर्फको निर्माणस्थलमा एउटा घर रहेको छ जुन घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले जनाएको छ । घरधनी स्थानान्तरणका लागि सहमत नभएपछि अहिले सो विषय मुद्दामा छ । कोभिड सङ्क्रमणका लागि असर पुगेका अरु ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ । त्यतिबेलामासम्म निर्माण सकिने इञ्जीनियर केसीले बताउनुभयो । काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ । खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ । अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौँ जाम हुने गरेको थियो । सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजरुपमा हुने अपेक्षा गरिएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माण सुरु गरिएको थियो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । सडक सम्पन्न भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने रोकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ ।

सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए । तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो ।

अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीनरूपमा यसको समाधान ‘फ्लाइओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ । तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो स्थानमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरिसकेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ