काभ्रेपलाञ्चोक,
३० साउन
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको १३औँ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उहाँले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको हो ।


“संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ”, नेता सिंहले भन्नुभयो । उहाँले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताउनुभयो ।
नेता सिंहले नेपाली कांग्रेस र समाजमा स्व वादेको योगदानको चर्चा गर्दै पुराना नेताको विचारलाई युवापुस्ताले आधुननिकीकरणसँगै अँगाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्व वादे सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो, आजको युवा पुस्ताले सोही विचारलाई अनुसरण गर्नुपर्दछ ।” आजका युवाले कांग्रेसको विचारलाई प्रविधिसँग जोडेर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।
नेता सिंहले राजनीतिका दौरान सिद्धान्त र आदर्श व्यक्तिको परिवारले निकै सास्ती खेप्नुपरेको स्मरण गर्दै नेपालमा चरणबद्ध परिवर्तन त्यत्तिकै नआएको उल्लेख गर्नुभयो । “२०१७ सालमा नेपालमा ‘कू’ हुँदा बुबा गणेशमान सिंहलाई घर निकाला गर्दा म ६ वर्षको थिएँ, स्व वादेको परिवारले पनि प्रजातन्त्र आउनुअघि निकै कठिनाइ भोगेको कुरा म उहाँबाट सुन्ने गर्थें”, सिंहले भन्नुभयो । उहाँले हरेक परिवर्तनका आन्दोलनमा शहीद भएका, अङ्गभङ्ग भएका र महापुरुषको योगदान बिर्सिन नहुने दोहो¥याउनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














