काठमाडौँ, १२ चैतः

सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ््नो भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो । सपथसँगै आफ्नो संसदीय यात्रा सुरु भएको उल्लेख गर्दै २६ वर्षे खनालले भन्नुभयो, “यो मेरो एक्लो पाइला होइन, प्रत्येक मतदाताको भरोसा र हजारौँ युवाहरुको आशाको सामूहिक यात्रा हो ।”

गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतिनिधिसभामा उहाँ र उहाँको उमेर समूहको प्रतिनिधित्व बढेको छ । त्यसैले आज भएको प्रतिनिधिसभा सदस्यहरूको सपथ ग्रहण समारोह केबल संवैधानिक प्रक्रिया मात्र नभइ संसद्मा युवा समूहको बाहुल्य प्रतिनिधित्वले संसद्लाई सुन्दर बनाएको छ ।

राजनीतिक यात्रा सुरु गरेको छोटो समयमा सांसदीय यात्रा सुरु गर्नुभएका २६ वर्षीया सांसद केपी खनालले इमान्दारिताका साथ काम गर्ने प्रण गर्नुभयो । उहाँले भन्नुभयो, “संसद्मा जेनजी उमेर समूहको उल्लेख्य प्रतिनिधित्व छ, त्यसैले हामी उत्साही छौँ, जिम्मेवारी पनि त्यत्तिकै महसुस भइरहेको छ । जनतालाई ‘डेलिभरी’ दिनु हाम्रो कर्तव्य हो । पारदर्शिता, इमान्दारिता र जवाफदेहिताका आधारमा काम गर्छौं ।”

उहाँले संसद् समारोहमा बुवाआमालाई साथमै लिएर आउनुभएको थियो । विगत १३ वर्षदेखि सामाजिक अभियानमा सक्रिय खनालले अब जनताकोे आवाज अब संसद्मा उठान गर्नका लागि तयार रहेको बताउनुभयो । आफू कैलाली–२ बाट निर्वाचित भए पनि सुदूरपश्चिमको प्रतिनिधि नभई देशभरका जनताको सेवकका रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जेनजी उमेर समूहकी २५ वर्षीया सांसद रुवीकुमारी ठाकुरले मधेसका युवा र महिलाको मुद्दा प्राथमिकताका साथ सदनमा उठाउने प्रण गर्नुभयो । मैथिली र नेपाली भाषामा सपथ ग्रहण गरेपछि उहाँले आफ्ना पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा भएको बताउनुभयो । सिभिल इन्जिनियरिङ विषय अध्ययनरत उहाँले मधेसको बेरोजगारी र वैदेशिक रोजगारका मुद्दालाई पनि कानुनमार्फत सम्बोधन गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

युवा सांसद सस्मित पोखरेलले आफूले राजनीतिक र कानुनी छिद्रहरूको अध्ययन सुरु गरिसकेको बताउनुभयो । त्यसका लागि नयाँ कानून निर्माण, आवश्यक संशोधनका लागि विशेषज्ञ टिम निर्माणमा गृहकार्य थालेको उल्लेख गर्नुभयो । “सपथपछि जिम्मेवारी अझ बढेको महसुस भएको छ । अब पाँच वर्षमा के गर्ने भन्ने कुरा स्पष्ट छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ