आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।
हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ र आजकै दिन यो पवित्र वनस्पति कुशलाई आ-आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ ।


आज उत्तरपूर्वी काठमाडौंको गोकर्णमा तीर्थ श्राद्ध गर्नेको घुइँचो छ।
उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, सिदादान गर्नेछन्। कतिपयले ब्राह्मणलाई भोजनसमेत गराउने गर्छन्।
गोकर्णमा बिहानैदेखि श्राद्ध गर्नेहरूको भिड छ। श्राद्ध गर्न जानेहरूको घुइँचोका कारण जोरपाटी-सुन्दरीजल रूटको सवारी आवागमनसमेत प्रभावित भएको छ। उक्त सडक आज पूर्णरूपमा बन्द गरिएको छ। गोकर्णेश्वर क्षेत्रको विशेष मेला भएकाले त्यसभेगका विद्यालय, संघ—संस्था आजको दिन बिदा दिइएको छ।
आजैका दिन बुवालाई श्रद्धापूर्वक मिष्ठान्न भोजन गराउने र उपहार दिने चलन छ। बुवाले पनि आफ्ना सन्तानलाई आरोग्य, सुख—समृद्धिको कामनासहित आर्शीवाद दिने गर्छन्।
देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पवित्र अर्थात् कुशको औंठी औंलामा लगाउने र कम्मरमा सिउरिने धार्मिक विधि समेत रहेको छ । अघि पछि उखेलेको कुश एकदिन, कुशे औंशीको दिन उखेलेको कुश एक वर्ष र कुशे औंसीको दिन सोमबार (सोमबारे औंसी) पर्न गएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्ण हुने शास्त्रोक्त वचन रहेको छ ।
कुशलाई आयुर्वेदिक दृष्टिकोणबाट पनि हेर्न सकिन्छ– कुशको प्रयोग आयुर्वेदिक औषधिहरूमा पनि गरिन्छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा, पत्थरीमा, अल्सर, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने सामर्थ्य कुशमै रहेको र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनिएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














